जितिया पर्व सुरु, सन्तानको दीर्घायु र पारिवारिक सुख शान्तिको कामनामा महिलाको कठोर व्रत

  • असोज १६, २०८३
  • समृद्धिपथ
alt

लहान । सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता तथा पारिवारिक सुख शान्तिको कामना गर्दै मिथिलाञ्चलमा मनाइने पवित्र जितिया पर्व शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छ। सिराहा, सप्तरी, धनुषालगायत मिथिला क्षेत्रका महिला आज ‘नहा खा’ अर्थात् नुहाएर खाने विधि पूरा गर्दै पर्वको धार्मिक अनुष्ठानमा सहभागी भएका छन्।

जितिया पर्व विशेषगरी तराई मधेस क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायका महिलाले श्रद्धा र निष्ठापूर्वक मनाउने गर्छन्। पर्वका अवसरमा महिलाहरूले सन्तानको दीर्घजीवन, सुस्वास्थ्य, सफलता तथा परिवारको सुख शान्तिका लागि भगवान् जितमाहनको पूजा आराधना गर्दै कठोर उपवास बस्ने परम्परा छ।

पर्वको पहिलो दिन व्रतालु महिलाहरू बिहानै नदी, पोखरी, तलाउ तथा अन्य पवित्र जलाशयमा स्नान गरी धार्मिक विधि पूरा गर्छन्। स्नानपछि घिरौँलाको पातमा भगवान् जितमाहन तथा दिवङ्गत पितृका नाममा चिउरा, दही, अमोट, पिना, सक्खर, तोरीको तेललगायतका सामग्री चढाउने चलन छ। देवतालाई चढाइएको प्रसाद परिवारका सदस्यलाई समेत खुवाउने गरिन्छ।

स्थानीय परम्पराअनुसार जितियाको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलनसमेत छ। यसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ। विभिन्न समुदायमा पर्व मनाउने विधि र खानपानमा केही भिन्नता रहे पनि सन्तानको कल्याणका लागि व्रत बस्ने मूल धार्मिक मान्यता भने समान रहेको पाइन्छ।

शुक्रबार नहा खा विधि पूरा गरेपछि शनिबार बिहानैदेखि व्रतालु महिलाहरू कठोर उपवासमा बस्नेछन्। परम्पराअनुसार बिहान काग कराउनुअघि नै ‘ओङ्गठन’ गर्ने चलन छ। ओङ्गठनमा चिउरा, दहीलगायतका खानेकुरा ग्रहण गरेपछि निराहार तथा निर्जल व्रत सुरु हुन्छ।

यस वर्ष व्रतालु महिलाहरूले शनिबार बिहान ४ बजेदेखि उपवास सुरु गरी आइतबार साँझ ५ बजेर १५ मिनेटमा व्रत सम्पन्न गर्ने धार्मिक विधि रहेको जनाइएको छ। व्रत अवधिभर पानीसमेत नखाई बस्ने भएकाले जितिया पर्वलाई मिथिलाञ्चलमा अत्यन्त कठोर व्रतमध्ये एकका रूपमा लिइन्छ।

जितिया पर्वमा जितमाहनको कथा सुन्ने र सुनाउने परम्पराको पनि विशेष महत्व छ। व्रतालु महिलाहरू नदी, पोखरी तथा पवित्र सरोवरमा स्नान गरेपछि सामूहिक रूपमा जितमाहनको कथा सुन्ने गर्छन्। परम्पराअनुसार ज्येष्ठ तथा पाकापुस्ताले कथा सुनाउने र नयाँ पुस्ताले सुन्ने चलन रहेको छ। यसले धार्मिक आस्थासँगै पुस्तान्तरण हुँदै आएको मौखिक सांस्कृतिक परम्परालाई समेत निरन्तरता दिएको छ।

जितिया व्रतलाई ‘खड् जितिया’का रूपमा समेत चिनिन्छ। व्रतका क्रममा व्रती महिलाले अत्यन्त सावधानी अपनाउनुपर्ने धार्मिक विश्वास छ। उपवासका क्रममा डकार आउनु, खकार निस्कनु वा जिब्रो टोक्नुलगायतका अवस्थालाई समेत व्रतको शुद्धतासँग जोडेर हेर्ने परम्परा छ। व्रत असफल भए पुनः यस्तो व्रत बस्न नहुने भन्ने धार्मिक मान्यतासमेत कतिपय समुदायमा रहेको पाइन्छ।

जितिया पर्वसँग जोडिएको पौराणिक कथाअनुसार राजा शालिवाहनको राज्यमा एउटी महिलाका सातजना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले उनीहरूलाई दैत्यबाट फिर्ता ल्याइदिएका थिए। त्यसपछि ती महिलाले राजालाई ‘जितमाहन’ नाम दिई उनको सम्झनामा सन्तानको दीर्घायुको कामना गर्दै उपवास बस्न थालेको धार्मिक कथन छ। यही परम्परा पछि जितिया पर्वका रूपमा विकसित भएको विश्वास गरिन्छ।

धार्मिक अनुष्ठानसँगै जितिया पर्व मिथिला क्षेत्रको सांस्कृतिक पहिचानसँग पनि जोडिएको छ। पर्वका अवसरमा महिलाहरू समूहमा भेला हुने, कथा सुन्ने, पूजा गर्ने तथा परम्परागत विधि पूरा गर्ने भएकाले यसले समुदायबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई समेत बलियो बनाउने गरेको छ।

सिराहाको लहानलगायत मिथिलाञ्चलका विभिन्न क्षेत्रमा जितियाको अवसरमा मेला तथा धार्मिक कार्यक्रमसमेत आयोजना हुने गरेका छन्। स्थानीय जलाशय, नदी तथा पोखरीहरूमा बिहानैदेखि व्रतालु महिलाको चहलपहल बढेको छ।

जितिया पर्वको धार्मिक महत्वसँगै यसको सांस्कृतिक पक्ष पनि महत्वपूर्ण मानिन्छ। बदलिँदो सामाजिक परिवेशमा पर्व मनाउने शैलीमा परिवर्तन आए पनि सन्तानको दीर्घायु, परिवारको सुख शान्ति र परम्पराप्रतिको आस्थालाई केन्द्रमा राखेर पुस्तौँदेखि चलिआएको यो पर्व मिथिला समाजमा अझै जीवन्त रहेको छ।

सिराहामा फेरि ठूलो प ...

सिराहा । सिराहाको सुखीपुर नगरपालिका–१० गागनखोला क ...

विपन्न परिवारकी छोरी ...

फिरोज सिद्दिकी  लहान । विपन्न तथा आर्थिक रूपमा कम ...

निर्माण श्रमिकलाई सा ...

फिरोज सिद्दिकी  लहान । निर्माण क्षेत्रमा कार्यरत ...

लहान नगर कमिटीद्वारा ...

लहान, असोज ३ गते । नेकपा (एमाले) लहान नगर कमिटीले १२औँ ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A