सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरबाट प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–७ का करिब २० वर्षीय अजय कुमार यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत बन्दीपुरमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारीसाधन जाँचको क्रममा पक्राउ गरेको हो।
पूर्वबाट पश्चिम पोखरातर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१–००१ ख ०२२१ नम्बरको यात्रुवाहक बस रोकी जाँच गर्ने क्रममा यादवले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीमा कालो प्लास्टिकले बेरेर लुकाइराखेको अवस्थामा खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्लास्टिकसहित उक्त पदार्थको तौल १० ग्राम ४१० मिलिग्राम रहेको र प्लास्टिक हटाउँदा ५ ग्राम रहेको प्रहरीले जनाएको छ। साथै यादवको साथबाट सामसुङ कम्पनीको एउटा स्क्रिन टच मोबाइलसमेत बरामद गरिएको छ।
बरामद पदार्थ ब्राउन सुगरजस्तो देखिए पनि यसको वास्तविक प्रकृति सम्बन्धी परीक्षण तथा अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
यादवलाई बरामद पदार्थसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A