फिरोज सिद्दिकी
लहान । सिरहामा तस्करीसम्बन्धी भिडियो रिपोर्ट प्रकाशित भएपछि अपन दैनिकका सञ्चारकर्मी श्यामकुमार यादवलाई घरमै पुगेर धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखा र प्रेस चौतारी नेपाल सिरहा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। दुवै संस्थाले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी ठहर हुनेमाथि कानुनबमोजिम कारबाही गर्न तथा पत्रकारको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग माग गरेका हुन्।
नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज वनैता यादव र प्रेस चौतारी नेपाल सिरहा शाखाका अध्यक्ष शिवकुमार साहले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै समाचार प्रकाशित गरेकै कारण पत्रकारलाई धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन्।
सञ्चारकर्मी यादवले दिएको उजुरीका आधारमा धम्की दिएको आरोप लागेका अजय यादव प्रहरी नियन्त्रणमा रहेको दुवै संस्थाले जनाएका छन्। उनीमाथि निष्पक्ष अनुसन्धान गरी आरोप पुष्टि भएमा प्रचलित कानुनअनुसार कारबाही गर्न विज्ञप्तिमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
पत्रकार महासंघ र प्रेस चौतारीले पत्रकारलाई धम्क्याउने तथा स्वतन्त्र पत्रकारितामा अवरोध पुर्याउने गतिविधिको भर्त्सना गर्दै पत्रकारले निर्भीक रूपमा समाचार संकलन र प्रकाशन गर्न पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
स्वतन्त्र, निष्पक्ष र निर्भीक पत्रकारिताका लागि सुरक्षित वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै दुवै संस्थाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको पेसागत सुरक्षाका पक्षमा आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
समाचार प्रकाशन तथा प्रसारणका कारण पत्रकारमाथि धम्की वा दबाब सिर्जना हुने घटनाले पत्रकारिताको स्वतन्त्रतामाथि प्रश्न उठाउने भएकाले यस्ता घटनाको निष्पक्ष छानबिन र कानुनी निरूपण आवश्यक रहेको पत्रकारसम्बद्ध संस्थाहरूको भनाइ छ।


सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A