फिरोज सिद्दिकी
सिरहा । सिरहा–चोहरवा सडकखण्डअन्तर्गत सिरहाको भालुवाहीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा सिरहा नगरपालिका–२२ निवासी अमरेश यादव र गोलबजार नगरपालिका–१० निवासी श्रीदेव यादव रहेका छन्।
प्रारम्भिक जानकारीअनुसार उत्तरबाट दक्षिणतर्फ गइरहेको ना १ घ ५५३ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको स ९ प ७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। मोटरसाइकल अमरेश यादवले चलाएका थिए। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनापछि घटनास्थल पुगेको प्रहरीले मृतकहरूको शव पोस्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पताल पठाएको जनाएको छ।
घटनामा संलग्न ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक चालकविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले जानकारी दिनुभयो।
सडक दुर्घटनामा दुई जनाको ज्यान गएपछि स्थानीय क्षेत्रमा शोक छाएको छ। दुर्घटनाको वास्तविक कारणबारे भने प्रहरी अनुसन्धानपछि थप विवरण खुल्नेछ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A