फिरोज सिद्दिकी
लहान, चैत १ । नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताहरूले क्षेत्रीय सभापति तथा लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले गरेको कारबाही सिफारिसप्रति कडा आपत्ति जनाउँदै त्यसलाई “राजनीतिक प्रतिशोध र गुटबन्दीको परिणाम” भएको आरोप लगाएका छन्।
सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पदका प्रत्याशी उम्मेदवार कन्हैया प्रसाद गुप्ताले प्रेस विज्ञप्ति जारी गरी यस्तो आरोप लगाएका हुन्।
आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा महाधिवेशन प्रतिनिधि सन्तोष चौधरी, गौरी नारायण चौधरी, जिल्ला सदस्य रामगणेश दास, क्षेत्र सह–सचिव मुकेश महतो, बुथ सभापति अम्बराज मिश्र, विनोद साह तथा थारु सङ्घ सिरहा जिल्ला अध्यक्ष अजय चौधरीलगायत नेताहरूले आफूहरूलाई निर्वाचनमा असहयोग गरेको भन्दै पाँच वर्षका लागि निष्कासन गर्न गरिएको सिफारिस पूर्णतः निराधार, कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गरेका छन्।
विज्ञप्तिमा उनीहरूले आफूहरू विगत लामो समयदेखि नेपाली कांग्रेसको सिद्धान्त, आदर्श र लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहँदै संगठन निर्माणमा सक्रिय रहेको उल्लेख गरेका छन्। २०४६ सालको प्रजातान्त्रिक आन्दोलनदेखि पार्टीका गतिविधिमा निरन्तर खटिँदै आएको र हालै सम्पन्न निर्वाचनमा पनि पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन अहोरात्र खटिएको उनीहरूको दाबी छ।
उनीहरूले कुनै पनि ठोस प्रमाण वा निष्पक्ष छानबिन बिना एकतर्फी रूपमा क्षेत्रीय बैठक राखेर कारबाही सिफारिस गर्नु पार्टीभित्रको आन्तरिक लोकतन्त्रको ठाडो उपहास भएको बताएका छन्। व्यक्तिगत स्वार्थ र राजनीतिक रिसइँवी साध्न यस्तो कदम चालिएको भन्दै उनीहरूले त्यसलाई “कांग्रेसको आन्तरिक लोकतान्त्रिक संस्कृतिमाथिको प्रहार” भनेका छन्।
विज्ञप्तिमा पार्टी विधानको धारा ३४ को हवाला दिँदै लगाइएका आरोपहरू पूर्णतः निराधार भएको दाबी गरिएको छ। क्षेत्रीय सभापति चौधरीसँग आरोप पुष्टि गर्ने कुनै आधार र प्रमाण नभएको र गुटबन्दीको राजनीतिका कारण यस्तो कदम चालिएको उनीहरूको भनाइ छ।
उक्त समूहले मेयर चौधरीको कार्यशैलीमाथि समेत कडा आरोप लगाएको छ। २०७९ को स्थानीय तह निर्वाचनपछि कार्यपालिका सदस्य चयनका क्रममा कांग्रेसका उम्मेदवारलाई मतदान नगरी स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको, २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउने गरी भ्रामक प्रचार गरिएको तथा विभिन्न निर्णयमार्फत पार्टी कार्यकर्तालाई असन्तुष्ट बनाउने काम गरिएको आरोप विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यसैगरी किसानको सिँचाइसँग सम्बन्धित खुट्टी नहरको विषयमा विवादास्पद गतिविधि गरेको, चुनावको समयमा नगर बस सेवा बन्द गराएर जनतामाझ कांग्रेसविरुद्ध नकारात्मक धारणा बनाउन भूमिका खेलेको र स्वयंसेवक शिक्षक नियुक्तिको विषयलाई समेत चुनावी स्वार्थका लागि प्रयोग गरिएको आरोप उनीहरूले लगाएका छन्।
विज्ञप्तिमा क्षेत्रीय सभापति चौधरीले आफूलाई “वन म्यान आर्मी” जस्तो देखाउन खोज्दै पार्टीभित्र गुटबन्दी र धम्कीको राजनीति गरेको आरोप पनि लगाइएको छ। यस्ता गतिविधिका कारण २०७९ र हालै सम्पन्न २०८२ फागुन २१ को निर्वाचनमा कांग्रेस उम्मेदवारहरूले अपेक्षित मत प्राप्त गर्न नसकेको दाबी उनीहरूको छ।
विज्ञप्तिमा चौधरीको आफ्नै वडासहित कांग्रेस बलियो मानिएका वडाहरूमा समेत अत्यन्त न्यून मत आएको उल्लेख गर्दै त्यसले उनको नेतृत्वको कमजोरी स्पष्ट भएको दाबी गरिएको छ।
उनीहरूले आफूहरूविरुद्ध गरिएको कारबाही सिफारिस तत्काल खारेज गर्न माग गर्दै कांग्रेसका जिम्मेवार पदाधिकारीहरूले पार्टी उम्मेदवारलाई जिताउन असफल भएको नैतिक जिम्मेवारी स्वीकार गर्दै पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A