फिरोज सिद्दिकी
लहान, वैशाख २२ गते हो। लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले सरकारद्वारा विद्यार्थी संगठन तथा कर्मचारी संगठन खारेज गर्ने निर्णयलाई स्वागतयोग्य बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले उक्त निर्णयले शिक्षा र सेवा क्षेत्र सुधारतर्फ सकारात्मक संकेत दिएको उल्लेख गरेका हुन्।
उपमेयर महतोले विद्यार्थीको मूल दायित्व शिक्षा आर्जन गर्नु र कर्मचारीको प्रमुख काम जनतालाई सेवा दिनु रहेको स्पष्ट पार्दै पछिल्लो समय यी दुवै क्षेत्र अत्यधिक राजनीतीकरणका कारण प्रभावित भएको टिप्पणी गरेका छन्। उनका अनुसार विद्यार्थी र कर्मचारी दुवै समूह राजनीतिक गतिविधिमा बढी संलग्न हुँदा अपेक्षित परिणाम आउन नसकेको अवस्था देखिएको छ।
'विद्यार्थीको काम पढाइ हो, कर्मचारीको काम सेवा दिनु हो। तर दुवै क्षेत्र राजनीतिमा अल्झिँदा शिक्षा र सेवा दुवै धराशायी भएका छन्,' उनले आफ्नो स्टाटसमार्फत लेखेका छन्।
महतोले सरकारको पछिल्लो निर्णयले यी क्षेत्रलाई पुनः आफ्नो मूल उद्देश्यतर्फ फर्काउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्। उनले यस्तो कदमले संस्थागत अनुशासन, कार्यक्षमता र जिम्मेवारीबोधमा वृद्धि हुने अपेक्षा गरेका छन्।
यद्यपि, सरकारको उक्त निर्णयप्रति विभिन्न तहबाट मिश्रित प्रतिक्रिया आइरहेको छ। कतिपयले यसलाई आवश्यक सुधारको कदमका रूपमा लिएका छन् भने केहीले लोकतान्त्रिक अधिकारमाथिको अंकुशका रूपमा आलोचना गरेका छन्।
शिक्षा र प्रशासनिक क्षेत्रलाई राजनीतिक प्रभावबाट टाढा राख्ने बहस पुरानै भए पनि यसको कार्यान्वयन भने सधैं विवादको विषय बन्ने गरेको छ। यस्तो अवस्थामा सरकारको निर्णयले दीर्घकालीन रूपमा कस्तो प्रभाव पार्नेछ भन्ने विषय अहिले आम चासोको केन्द्रमा रहेको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A