सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–४ का एक पुरुषले श्रीमतीमाथि तातेको फलामे रडले निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। घटनामा घाइते भएकी महिलाको उपचार भइरहेको छ भने प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका–४ का ३३ वर्षीय रामशंकर यादव रहेका छन्। उनीमाथि आफ्ना भाइ श्यामसुन्दर यादवको सहयोगमा श्रीमती सञ्जनामाथि मंगलबार राति करिब १० बजे घरभित्र अमानवीय यातना दिएको आरोप लागेको छ।
पीडित सञ्जनाका अनुसार श्रीमान्को साथीसँग मोबाइलमा कुरा गरेको विषयलाई लिएर विवाद भएपछि घरको झ्यालढोका थुनेर भात पकाउने चुलोमा फलामे रड तताई हातखुट्टा तथा शरीरका विभिन्न भागमा प्रहार गरिएको थियो। उनले आफ्नो हातखुट्टा बाँधेर मुखमा कपडा कोच्दै कुटपिट गरिएको आरोपसमेत लगाएकी छन्।
घरभित्रबाट चर्को आवाज र झगडाको संकेत पाएपछि छिमेकीहरूले ढोका फोडेर सञ्जनाको उद्धार गरेका थिए। त्यसपछि प्रहरीलाई खबर गरी उनलाई तत्काल नवराजपुरस्थित सरकारी अस्पतालमा उपचारका लागि पुर्याइएको प्रहरीले जनाएको छ।
उपचाररत सञ्जनाले कुटपिटका क्रममा तातेको फलामे रड प्रयोग गर्नुका साथै हातखुट्टाको नङ निकाल्न दुईवटा प्लाससमेत तयारी अवस्थामा राखिएको दाबी गरेकी छन्। छिमेकीहरूले समयमै उद्धार नगरेको भए आफ्नो ज्यानसमेत जान सक्ने अवस्था रहेको उनले बताएकी छन्।
स्थानीयवासीका अनुसार सञ्जनामाथि यसअघि पनि पटक–पटक घरेलु हिंसा हुँदै आएको थियो। छिमेकीसँग सामान्य कुराकानी गरेको विषयलाई लिएर समेत कुटपिट गर्ने, बाहिर निस्कन रोक लगाउने तथा एकपटक आँखामा खुर्सानीको धुलो हालेर समेत यातना दिएको आरोप स्थानीयले लगाएका छन्।
घटनाको जानकारी राति करिब साढे १२ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको टोली घटनास्थल पुगेको थियो। त्यसबेलासम्म गाउँलेहरूले घाइते महिलालाई अस्पताल पुर्याइसकेका थिए। प्रहरीले अस्पताल पुगेर पीडित तथा स्थानीयसँग घटनाबारे जानकारी लिएपछि रामशंकर यादवलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोप लागेका रामशंकरका भाइ श्यामसुन्दर यादव फरार छन्। उनको खोजी कार्य जारी रहेको छ।
स्थानीयका अनुसार रामशंकरकी पहिलो श्रीमतीले पनि पटक–पटकको कुटपिट र यातना सहन नसकी घर छाडेकी थिइन्। त्यसपछि करिब तीन वर्षअघि उनले भारतको बिहार राज्य, मधुवनी जिल्ला भेलहा गाउँकी सञ्जनासँग दोस्रो विवाह गरेका थिए।प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A