लहान, साउन ७ गते । सिरहाको लहानमा लागुऔषध नियन्त्रणका लागि सञ्चालन गरिएको विशेष प्रहरी कारबाहीका क्रममा दुई जना गोली लागेर घाइते भएका छन्। प्रहरीले घटनास्थलबाट २४३ ग्राम खैरो हेरोइन बरामद गर्दै लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको विशेष टोलीले भारतबाट नेपालतर्फ खैरो हेरोइन ओसारपसार तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा सीमा क्षेत्र आसपास निगरानी बढाएको थियो। सोही क्रममा बिहीबार लहान नगरपालिका–२ स्थित कटहा चोकदेखि करिब १५० मिटर उत्तर अस्पताल चोक जाने सडकमा संदिग्ध गतिविधि देखिएपछि प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो।
प्रहरीको दाबीअनुसार पक्राउ गर्ने क्रममा आरोपितहरूले प्रहरीमाथि आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन सुरुमा पाँच राउन्ड हवाई फायर गरी चेतावनी दिइएको थियो। चेतावनीपछि पनि अवस्था नियन्त्रणमा नआएपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनाएको छ।
गोली लागेर भारतको बिहार राज्यका २२ वर्षीय बिद्यानन्द यादवको दाहिने खुट्टा तथा सप्तरीको रुपनी गाउँपालिका–१ निवासी ४० वर्षीय मोहम्मद नसिरको बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। दुवै घाइतेलाई तत्काल प्रादेशिक अस्पताल लहानमा उपचारका लागि भर्ना गरिएको छ।
घटनामा पक्राउ पर्ने अन्य व्यक्तिमा सप्तरीको बोदे बसाइन गाउँपालिका–२ का २८ वर्षीय शम्भु प्रसाद यादव, २४ वर्षीय बैधनाथ प्रसाद यादव, डाक्नेश्वरी नगरपालिका–२ का २८ वर्षीय मोहम्मद जमाहिर आलम तथा २२ वर्षीय मोहम्मद इमामुदिन रहेका छन्। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट २४३ ग्राम खैरो हेरोइन, स२प ८१८५ र स११प ८०५ नम्बरका दुई मोटरसाइकल तथा सात थान मोबाइल फोन बरामद गरेको जनाएको छ।
सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागुऔषध ओसारपसार र कारोबारका गतिविधि बढिरहेको भन्दै प्रहरीले निगरानी तथा नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A