जीवछ यादव
लहान साउन १० गते
जहाँ सहमति सहकार्य एकता छ,त्यहाँ विकास भएको देखिएको छ । विकासको लागि सहमति सहकार्य र एकता आवश्यक भएको सरोकारवालाहरुले बताइएका छन् ।
सिरहाको १७ वटा पालिकाहरुमा १६४ वटै वडाहरुको विकास कार्यलाई अनुगमन गर्दा विकासको लागि सहमति भएका वडाहरुमा ६० देखि ८० प्रतिशत विकास निर्माणको काम भएको जिल्ला समन्वय समिति सिरहाको प्रमुख दिनेश कुमार महतोले बताउनुभयो । उहाँले भन्नुभयो," विकास भनेकै सहमति सहकार्य र एकता हो ।विकासको लागि सबै दलको बिचमा एकता आवश्यक छ ।"
देशकै सबैभन्दा बढी वडा भएको लहान नगरपालिकामा ११,१२,१४,१५,१६,१७,२०,२१,२२ र २४ नम्वर वडाहरुमा सहमति र बजेट फ्रिज नहुँदा विकासले निकै गति लिएको लहान नगरप्रमुख महेश प्रसाद चौधरीले बताउनुभयो । उहाँको अनुसार उपभोक्ता समितिबाट हुने विकास निर्माणको कार्यको लागि गठन हुने उपभोक्ता समिति नै पारदर्शी र विकास निर्माणको कार्यमा विवाद नगरी सहमतिको आधारमा विकास भइरहेको छ । ग्रमीण भेगका अन्य वडाहरुमा सहमति नहुँदा विकासले गति लिन नसकेको उहाँले बताउनुभयो ।
विकासको लागि हतारमा असार लागेपछि गठन हुने उपभोक्ता समितिले गर्दा पारदर्शीता र जन सहभागिता हुन नसकिरहेको ठूलो समस्या भएको नागरिक अगुवा दिनेश यादवले बताउनुभयो । "उपभोक्ता समिति माघ फागुन तिर नै गठन गरेर सहमति सहकार्यको वातावरण बनाउन पालिकाहरुबाट पहल नहुनु कमजोरी गर्दा विकासमा तगारो देखिएको छ । यस आर्थिक वर्षमा १७ वटै बालिकाहरुको बजेट दुई अर्बभन्दा बढी फ्रिज हुनु बिडम्बना हो",उहाँले भन्नुभयो ।
गणतन्त्र संघियता आएपछि पटक्कै विकास नभएको भाष्य ठिक नभएको प्रध्यापक कन्हैभटको बुझाई छ । "जहाँ सचेत समुदाय छ,त्यहाँ विकास भएकै हो । विकासको लागि सामुदायिक स्तरमा सहजीकरण गर्न नागरिक अगुवाहरुले समेत सकारात्मक भूमिका खेल्न आवश्यक छ,"उहाँले भन्नुभयो
।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A