फिरोज सिद्दिकी
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाभित्र आयोजना हुने मेला, महोत्सव, जात्रा तथा चाडपर्वका कार्यक्रम राति १० बजेपछि सञ्चालन नगर्न आग्रह गरेको छ। प्रशासनले शान्ति सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न र धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पर्न नदिन आयोजकलाई सचेत गराएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वार जारी सूचनामार्फत मेला–महोत्सवका अवसरमा हुने सांस्कृतिक, मनोरञ्जनात्मक, नाचगानलगायतका कार्यक्रम राति १० बजेपछि सञ्चालन नगर्न तथा नगराउन अनुरोध गरिएको छ।
सूचनामा ठूलो आवाजमा डिजे (DJ), साउण्ड सिस्टम तथा बाजागाजा नबजाउन र प्रचलित कानुन तथा निर्धारित मापदण्डअनुसार ध्वनि कायम राख्न पनि भनिएको छ।
त्यसैगरी, कार्यक्रम सञ्चालन गर्दा सडक तथा सार्वजनिक आवागमनमा अवरोध हुन नदिने, सरसफाइ र फोहोरमैला व्यवस्थापन गर्ने, आवश्यक सुरक्षा प्रबन्ध मिलाउने तथा कानुनले निषेध गरेका गतिविधि हुन नदिने व्यवस्था गर्न प्रशासनले निर्देशन दिएको छ। स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री–वितरणलाई प्राथमिकता दिनसमेत आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाभित्र मेला, महोत्सव तथा यस्ता कार्यक्रम सञ्चालन गर्नुअघि सम्बन्धित स्थानीय तहबाट अनुमति लिनुपर्नेछ। त्यसपछि जिल्ला प्रशासन कार्यालयबाट शान्ति सुरक्षासम्बन्धी सिफारिस लिई सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ।
प्रशासनले अनुमति पत्रमा उल्लेख गरिएका सर्तहरूको पूर्ण पालना गर्न सम्बन्धित सङ्घसंस्था, क्लब, समिति तथा आयोजकलाई सूचित गरेको छ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A