हेटौँडा । मकवानपुरको भीमफेदीमा यात्रुवाहक विद्युतीय हाइस (इभी) दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दुर्घटनामा परेका यात्रुको उद्धार तथा मृतकको शव निकाल्न कठिनाइ भएको छ।
बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढी नजिक भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा काठमाडौंबाट सर्लाहीतर्फ आइरहेको प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक इभी हाइस सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो।
प्रारम्भिक विवरणअनुसार दुर्घटनामा पाँच पुरुष, तीन महिला र दुई बालबालिकासहित १० जनाको घटनास्थलमै मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।
दुर्घटनामा घाइते भएका दुई बालक र एक पुरुषलाई उद्धार गरी हेटौँडा अस्पताल पुर्याइएको छ। घाइते हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, सक्षम कुमार यादव र तीन वर्षीय सुदन यादव रहेका छन्। उनीहरूको उपचार भइरहेको छ।
दुर्घटनास्थल अत्यन्तै भिरालो र गाडी सडकबाट निकै तल खसेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। घटनास्थलमा रहेका सुरक्षाकर्मीका अनुसार घाइतेलाई सडकसम्म ल्याउनसमेत लामो समय लागेको थियो। मृतकका शव माथि ल्याउन कठिन भएपछि डोरीको सहायताले तान्ने प्रयास गरिएको छ। शव निकाल्न थप चार घण्टासम्म लाग्न सक्ने प्रहरीको अनुमान छ।
दुर्घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ४८ जना सुरक्षाकर्मी उद्धारमा परिचालन भएका थिए। मकवानपुरका प्रहरी उपरीक्षकसहितको टोलीसमेत घटनास्थलमा खटिएको थियो।
यसैबीच, दुर्घटनाग्रस्त सवारीका चालकको अवस्था अझै खुल्न सकेको छैन। चालक जीवित छन् वा मृतकमध्ये नै छन् भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ। गाडीमा यात्रु विवरणसहितको चलान पुर्जीसमेत नभेटिएकाले मृतकको पहिचान गर्न पनि कठिनाइ भइरहेको छ।
यस दुर्घटनाले भीमफेदी–कुलेखानी हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको यात्रु विवरण व्यवस्थापन र सुरक्षा सावधानीमाथि गम्भीर प्रश्न उठाएको छ। यात्रुको नाम, सम्पर्क नम्बर, चढ्ने तथा ओर्लने स्थानसहितको विवरण व्यवस्थित नराख्दा दुर्घटनापछि उद्धार, पहिचान र परिवारलाई जानकारी गराउने कामसमेत प्रभावित हुने देखिएको छ।
छोटो दूरीका रूपमा प्रयोग हुँदै आएको भीमफेदी–कुलेखानी सडकखण्डमा सवारी दुर्घटना बढ्दै जानुले सडक सुरक्षा, सवारीसाधनको प्राविधिक अवस्था र चालकको सावधानीमाथि प्रभावकारी निगरानी आवश्यक देखिएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A