रुपन्देही । परम्परागत देउसी–भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक शिष्टाचारविपरीत अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीमा दुई महिला पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलवार बजारबाट उनीहरूलाई बिहीबार राति करिब १२ः०५ बजे नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत रहेका छन्।
इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन्।
प्रहरीले परम्परागत देउसी–भैलो कार्यक्रमको मौलिकता, सांस्कृतिक पहिचान र सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने गरी स्वेच्छाचारी तथा अमर्यादित ढंगले अश्लील नृत्य, गीत तथा संगीत प्रदर्शन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A