लहान । बैज्ञानिक डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको लहानमा मधेश आन्दोलनका शहीदहरुको सम्झनामा आज बलिदानी दिवस मनाउन लागिएको छ । बलिदानी दिवसको अवसरमा प्रदेश दुईको प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ भने औपचारिक कार्यक्रमको समेत आयोजना गरेको छ ।
पहिलो मधेश आन्दोलनका पहिलो सहिद रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते मधेशभरी बलिदानी दिवस मनाइन्छ । सोही अवसरमा लाहानस्थित सहिद रमेश महतोसहितको शालिकमा गठबन्धनका संयोजक डा.सीके राउतले माल्यार्पण गर्दै लहान स्थित रहेको पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने जनाइएको छ ।
यसअघि मधेसवादी दलले सरकारमा रहँदा सहिद महतोलाई सम्झिने गरेको थियो । तर पछिल्लो समय उपेन्द्र यादवको नेतृत्वको पार्टीले समेत लहानमा बलिदानी दिवस मनाउन छाडेको छ ।
प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको अवसर पारेर मधेश केन्द्रित दलहरु माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउदै आएको थियो ।
तर प्रदेश सरकारको गठन पश्चात प्रदेश सरकारले उक्त दिवस मनाउन थालेका छन । गत वर्ष प्रदेश सरकारले पर्साको विरगंजमा बलिदानी दिवस कार्यक्रमको आयोजना गरेको थियो भने यस वर्ष जनकपुरमा आयोजना गर्न लागेका हुन ।
मधेश आन्दोलन भएको आज १४ वर्ष पूरा भएको छ । यस अवधिका मधेश आन्दोलनको विषयमा धेरै बहस र समीक्षा भए तर उपलब्धि जनताले महसुस गर्न पाएनन् । मधेश आन्दोलनकै नाममा केही मधेशी नेताहरू मन्त्री बन्न सफल भए पनि आम मधेशी जनताको जीवनमा त्यसको कुनै असर परेको छैन ।
यद्यपी माघ ५ लाई मधेशले ‘बलिदानी दिवस’को रूपमा सम्झने गरेको छ । सुरूका दिनमा बलिदानी दिवसको अवसरमा खुब तामझामका साथ दिवसको स्मरण गरिन्थ्यो भने शनैः शनै त्यो विस्मृत हुँदै गएको छ ।
किनभने आन्दोलन जति पुरानो हुँदै जान्छ त्यो आन्दोलनको विरासत पनि कमजोर हुन्छ । केही वर्षअघिसम्म बलिदानी दिवस मनाउन मधेशी दलहरूबीच अघोषित प्रतिस्पर्धा नै हुन्थ्यो ।
२०६३ सालमा अन्तरिम संविधान जारी भएलगत्तै काठमाडौंको माइतीघरमा तात्कालीन मधेशी जनअधिकार फोरमले अन्तरिम संविधानको प्रतिलिपि जलाएको थियो ।
संविधानको प्रतिलिपि जलाएको आरोपमा फोरमका अध्यक्ष उपेन्द्र यादव सहितका दर्जन बढी नेता गिरफ्तार भए ।
नेताको गिराफ्तारीको विरोधमा मधेशका जिल्लाहरूमा आन्दोलन सुरू भयो । राजमार्गमा टायर बालेर सुरू भएको जक्काजाम आन्दोलन माघ ५ गते लहानबाट जनविद्रोहको रूपमा मधेशभर फैलियो ।
२०६३ माघ ५ गते सिरहाको लहानमा तत्कालीन नेकपा माओवादी कार्यकर्ताले चलाएको गोलीबाट रमेश महतोको निधनको भएको थियो । त्यससँगै मधेश आन्दोलन उठेको हो । त्यही आन्दोलनबाट धेरै मधेशी नेताको उदय भएको र उनीहरू स्थापित पनि भए । धेरै मन्त्री पनि भए । तर मधेशी जनताले के पाए भन्ने प्रश्नको जबाब अहिले पनि मधेशले खोजिरहेको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A