‘माओवादीले जनयुद्ध नगरेको भए मधेस विद्रोह नै हुने थिएन’ ‘संघियता बलियो नभएर पालिकाहरूलाई लुटतन्त्रमा रूपान्तरण गरिएको छ’

  • माघ ५, २०८०
  • समृद्धिपथ
alt

शिक्षण पेसा छाडेर वामपन्थी राजनीतिमा होमिएका रामरिझन यादव अहिले राजनीतिबाट पनि टाढिएका छन् । लामो समय पत्रकारिता अनि माओवादीमा सक्रिय राजनीति गरेका उनी डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार समेत भएका थिए । अहिले उनी बाबुरामको साथमा पनि छैनन् ।

सामाजिक अभियन्ताको रूपमा तराई मधेसमा सक्रिय रहेका यादव वर्तमान राजनीतिप्रति निकै असन्तुष्ट छन् । अहिलेका नेताहरूप्रति तिखो टिप्पणी गर्ने यादवसँग गरेको कुराकानीको सम्पादित अंश:

तपाईं प्राध्यापक हुनुहुन्थ्यो, त्यो छाडेर राजनीतिमा आउनुभयो, पत्रकारिता पनि गर्नुभयो, प्रधानमन्त्रीको प्रेस सल्लाहकारसम्म बन्नुभयो, तर अहिले सबै कुरा छाड्नुभयो । किन ?

तपाईंले भने जस्तो सबै कुरा छाडेको होइन । पार्टी छाडेको छु तर राजनीति छाडेको छैन । यद्यपि राजनीति गर्नका लागि पार्टी चाहिन्छ, डेढ वर्षदेखि म कुनै पार्टीमा छैन ।

कम्युनिस्ट पार्टीबाट राजनीति सुरु गर्नुभयो । माओवादीमा निकै सक्रिय हुनुहुन्थ्यो, चुनाव पनि लड्नुभयो तर एकाएक त्यो पार्टी किन छाड्नुभयो ?

माओवादीले जुन सोचका साथ, जुन उद्देश्यका साथ जनयुद्ध गरेको थियो, शोषित पीडितको पक्षमा राज्य निर्माण गर्छौँ भन्ने नारा दिएको थियो, त्यो व्यवहारमा कहीँ कतै देखिएन । माओवादीको भनाइ र गराइमा ठुलो अन्तर देखियो ।

त्यसैले अहिलेको परिस्थितिमा माओवादीलाई यसरी बोकेर लान सकिँदैन भन्ने लाग्यो । माओवादी एउटा पिरियडका लागि थियो जसले जनयुद्ध सम्पन्न गर्‍यो । अहिले माओवादीका साथीहरूले त्यसलाई नयाँ जनवादी क्रान्ति सम्पन्न भएको भनिरहनुभएको छ । त्यो होला पनि । तर मेरो विचारमा अहिलेको अवस्थामा मार्क्सवादलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्छ ।

यो विचार लिएर तपाईं डा. बाबुराम भट्टराईको साथमा पनि जानुभयो । तर त्यहाँ पनि टिक्नुभएन नि ?

डा. बाबुराम भट्टराईले स्थायित्व दिन सक्नुभएन । उहाँले माओवादी त्यतिबेला छाड्नुभयो जतिबेला पुरै मधेस आन्दोलनले तातिएको थियो । रघुवीर महासेठ, विमलेन्द्र निधिजस्ता व्यक्ति पनि जनकपुर जान सकिरहेका थिएनन् । त्यतिबेला बाबुराम भट्टराई जनकपुर पुग्नुभएको थियो । १० हजार जनतालाई सम्बोधन गरेर फर्किनुभयो, त्यो मामुली कुरा थिएन । पहाडी भएर पनि मधेसप्रति उहाँको छुट्टै चाहना छ । नेपालको इतिहासमा मधेसी जनताले यो सम्झनेछन् ।

बाबुराम भट्टराईले माओवादी पार्टीलाई जसरी बुझ्नुभयो, मेरो पनि बुझाइ त्यस्तै थियो । तर बाबुराम भट्टराई पछि गएर विभिन्न पार्टीसँग ध्रुवीकरण गर्न थाल्नुभयो । मैले उहाँलाई भनेको थिएँ, तपाईं ध्रुवीकरण जानुभयो भने तपाईंको नयाँ शक्ति विभक्त हुन्छ । मैले बारम्बार भन्दा पनि उहाँ एकोहोरो ढंगले लाग्नुभयो ।

उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेपछि मैले तपाईं सफल हुन सक्नुहुन्न समेत भनेको थिएँ । उपेन्द्रजीको आफ्नै महत्त्वाकाङ्क्षा छ, तर उपेन्द्रजी तपाईंभन्दा धेरै तलको लिडर हुनुहुन्छ । तपाईं माओवादीको त्यत्रो ठुलो नेता हुँदा उपेन्द्रजी जिल्ला सदस्य मात्र हुनुहुन्थ्यो ।

तपाईं त्यहाँ जानुभयो भने पनि टिक्नुहुन्न पनि भनेको थिएँ । तर उहाँले मान्नुभएन र एकीकरण गर्नुभयो । अन्ततः उहाँ त्यहाँ टिक्न सक्नुभएन । म बाबुराम भट्टराईसँग असन्तुष्ट हुनुको कारण त्यति नै थियो ।

बाबुरामजी अस्ति विराटनगर जानुभयो मलाई बोलाउनुभयो र भन्नुभयो – यसरी बसेर भएन । मैले पनि भनेँ – अब म बाबुराम भट्टराई कहाँ जान्नँ । जुन दिन बाबुराम भट्टराई रामरिझन कहाँ आउनुहुन्छ, त्यो दिन रामरिझनले सोच्नेछ ।

बाबुराम भट्टराई विराटनगरमा हुँदा एउटा आँखा अस्पतालमा आँखा जँचाउन जानुभयो । म पनि त्यहाँ जँचाउन गएँ । त्यहाँ बाबुराम भट्टराईले गाडीबाट ओर्लेर भन्नुभयो – म तपाईं कहाँ आउँदैछु है । तपाईले भन्नुभएको थियो कि अब रामरिझन बाबुराम कहाँ जाँदैन, अब म नै तपाईं कहाँ आउँदैछु, अब के गर्नुहुन्छ ?

अनि मैले भने, ‘तपाईं म कहाँ आउनुभयो भने म तपाईंको साथमा छँदैछु ।’ त्यसपछि उहाँ मेरो घरमा आउनुभयो । केही कुराकानी पनि भयो ।

यो देशको परिवर्तन गर्न माओवादी, कांग्रेस, एमाले वा मधेसी दल कसैले पनि सक्दैन त ?

यी दलहरूबाट मैले सम्भावना नै देखेको छैन । मधेसवादी दलसँग विचार छ, व्यवहार छैन । पार्टीले लिएको विचारलाई व्यवहारमा उतार्दैनन् । उनीहरूबाट पनि पार लाग्ने अवस्था छैन ।

यद्यपि गर्ने यिनी दलहरू नै हुन् । तर जनतामा जुन किसिमको असन्तुष्टि छ, त्यसलाई उनीहरूले सम्बोधन गर्न सकिरहेका छैनन् । २०४६ सालको आन्दोलनमा दुई सय प्राध्यापकमध्ये एक जना रामरिझन मात्र अरेस्ट भएको थियो । यदि पञ्चायत कायम भएको भए मेरो जागिर जान्थ्यो । बहुदल आयो मेरो जागिर जोगिएन मात्र, म स्थायी पनि भएँ ।

यो लोकतन्त्र ल्याउनमा व्यक्तिगत रूपमा मैले जे संघर्ष गरेँ, त्यो कोइराला परिवारलाई पनि थाहा छ । शेखर कोइरालाकी आमालाई थाहा छ, उहाँको कान्छो बुवालाई पनि थाहा छ । तर जब वामपन्थी भनेर लेखेँ, यही रामरिझनलाई कोइराला निवासबाट कोइरालाकी आमाले घोक्रेठ्याक लगाएर निकाल्नुभयो । रामरिझन मेरो घरबाट निस्की भन्नुभयो ।

यसरी लडेर ल्याएको लोकतन्त्रलाई लुटतन्त्रमा रूपान्तरित गर्न सकिन्छ ? आक्रोश आउँदैन रामरिझनलाई रु म अनन्तहरूलाई भन्न चाहन्छु कि जनयुद्धको समयमा तपाईंको कति सम्पत्ति थियो र अहिले कति सम्पत्ति छ देखाउनुस् जनतालाई । एकरति कम योगदान छैन अनन्तहरूभन्दा रामरिझनको । जनयुद्धलाई बरबाद गर्ने उहाँहरू नै हुनुहुन्छ ।

जनयुद्धप्रति जुन नकारात्मक धारणा आएको छ, त्यो अनन्तहरूका कारण आएको छ । प्रचण्डकै कारणले आएको छ । प्रचण्डका छोराका कारण भएको छ । प्रचण्डका छोरा प्रकाशको निधन भइसक्यो तर प्रकाशले मसँग पनि दुर्व्यवहार गरेका थिए । उहाँहरू अग्रगामी होइन प्रतिगामी हुँदै गइरहनुभएको छ ।

जुन उद्देश्यका साथ जनयुद्ध भएको थियो, त्यसबाट केही कुरा अघि नबढेको हो त ?

होइन बढेको हो । माओवादीले धेरै कुरा गरेको छ । अहिले देशमा जुन परिवर्तनहरू देखिएका छन्, ती सबै माओवादीकै कारणले भएको हो । माओवादीले जनयुद्ध नगरेको भए मधेस विद्रोह नै हुने थिएन । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनमा माओवादीको धेरै ठुलो योगदान छ । टाइम्स अफ इण्डियामा प्रचण्ड र बाबुरामले अन्तर्वार्ता दिँदा उहाँहरूले भन्नुभएको थियो कि हामी दुई जना जनयुद्धपछि सत्तामा जाँदैनौँ, अरूलाई पठाउँछौँ । तर प्रचण्ड आफै तीन चोटि प्रधानमन्त्री हुनुभयो, बाबुराम भट्टराई एक पटक हुनुभएको छ । उहाँहरूले सत्ता छोड्नु हुन्न । सत्ता त के पार्टीको पद नै छोड्नु हुन्न । पार्टीको अध्यक्ष अझै आठ वर्ष थप्ने कुरा भएको छ ।

यो देश माओवादीबाट चल्दैन, कांग्रेस, एमालेबाट चल्दैन भने यो देश कोबाट चल्छ त ?

चलाउने यिनै पार्टीहरूले हो, यिनै नेताहरूले हो । तर ती पार्टी र नेताहरू सुध्रिनुपर्छ । त्यो सम्भावना पनि छ । उनीहरू नसुध्रिने विकल्प नै छैन ।

यो व्यवस्थाकै विकल्प खोज्न मान्छे सडकमा आइसकेका छन् । नेताहरू सुध्रिन्छन् जस्तो लाग्छ तपाईंलाई ?

लोकतन्त्रको सुन्दरता के हो भने यहाँ चोरले पनि भाषण गर्न पाउँछ, डाँकुले पनि नारा लगाउन पाउँछ । यो लोकतन्त्रको सुन्दरता हो क्या ! ज्ञानेन्द्रकालमा, उहाँको पुर्खाले चलाएको पञ्चायतकालमा हामीलाई लेख्न, बोल्न पनि दिँइदैन थियो । तर आज उनीहरू नारा लगाएर हिँडिरहेका छन्, यही त हो लोकतन्त्रको सुन्दरता । तर उनीहरूले यो व्यवस्था परिवर्तन गर्न सक्दैनन् । जनतामा नेताहरूप्रतिको आक्रोश मात्र हो ।

तपाईं राजनीतिमा कतै अटाउन सक्नुभएन, तपाईंले पो पुनर्विचार गर्ने हो कि ?

मलाई बाबुरामको सोच राम्रो लाग्छ । तर बाबुरामको जुन ढुलमुले नीति हो नि, त्यो मलाई मन पर्दैन । अहिले फेरि प्रचण्डसँग जाने कुरा सुनिरहेको छु । माओवादीमा जानु भयो भने बाबुरामको सर्वनाश हुन्छ । बाबुराम कतैको रहनु हुन्न क्या ! नारायणकाजी श्रेष्ठको हालत कस्तो भएको छ, त्यस्तै हुन्छ । नेपालको इतिहासमा नारायणकाजी जस्तो राम्रो गृहमन्त्री कहिल्यै भएको थिएन । कुन गृहमन्त्रीले सरुवा–बढुवामा पैसा खाएको छैन, सबैले खाएका छन् । तर म दाबीका साथ भन्छु, नारायणकाजी श्रेष्ठले कसैसँग एक पैसा खानुभएको छैन । भुटानी शरणार्थीदेखि लिएर विभिन्न सुनकाण्ड, जग्गा काण्डहरू उहाँले बाहिर ल्याउनुभयो । त्यसमा शेरबहादुर देउवा, बालकृष्ण खाँणका श्रीमतीहरू पनि फस्ने बाला थिए ।

तर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई थाहै नदिईकन एआईजी श्याम ज्ञवालीलाई सरुवा गरिएको थियो । एआईजीको सरुवा हुन्छ र गृहमन्त्रीलाई थाहा हुँदैन भने त्यही दिन उहाँले मन्त्री पदबाट राजीनामा दिनुपर्थ्यो ।

त्यत्रो पहाडिया नश्लवादविरुद्ध लडेर ल्याएको मधेस प्रदेश सरकारसँग पनि तपाईं सन्तुष्ट हुनुहुन्न । त्यहाँ त सबै मधेसी छन् । तपाईंको काम असन्तुष्टि जाहेर गर्ने मात्र हो कि क्या हो ?

मेरो काम असन्तुष्टि जाहेर गर्ने मात्र होइन । मधेस प्रदेशले गरेका कतिपय कामहरूलाई म सकारात्मक रूपमा लिन्छु । मधेस प्रदेशले ल्याएका विभिन्न ऐनहरू ल्यायो, त्यो संघीयतालाई बलियो बनाउने काम हो त्यो । लोकतन्त्रलाई लुटतन्त्र होइन, लोकतन्त्रलाई बलियो बनाउनुपर्छ भन्न सबैको चाहना हो ।

अहिले गाउँगाउँमा पैसा गएको छ । राजनीति नजानेका व्यक्तिहरू मेयर भएका छन्, गाउँपालिका अध्यक्ष भएका छन्, वडाध्यक्ष भएका छन् । एउटा गाउँपालिकाका अध्यक्ष गाडी किनेको छ, उपाध्यक्षलाई समेत ८० लाखको गाडी किनिदिएको छ । एउटा सानो गाउँमा उपाध्यक्षलाई किन गाडी चाहियो ? उहाँलाई कहाँ जानुपर्छ र ? एउटा मोटरसाइकलले पनि पुग्छ । पालिकाहरूलाई लुटतन्त्रमा रूपान्तरण गरिएको छ । यदि संघीयता बलियो भएको भए यो अवस्था आउने थिएन ।

मधेसवादी दल र नेताको बारेमा तपाईंको टिप्पणी के छ ?

मैले अघि पनि भनेका थिए कि उहाँहरूसँग विचार छ तर व्यवहार छैन । त्यही व्यवहार नभएको कारण सीके राउतहरूको जन्म भएको हो । अमेरिकामा स्थापित भइसकेका व्यक्ति नेपालमा आएर मधेसको राजनीति सुरु गरेपछि त्यत्रो ठुलो नेता उपेन्द्र यादवका लागि घाँडो भएको छ । किनभने उपेन्द्र यादवसँग विचार छ तर त्यसलाई व्यवहारमा लागु गर्न सक्नुभएको छैन ।

त्यसो भए मधेसलाई अब सीके राउत नै चाहिएको हो त ?

सीके राउत नै चाहिन्छ भनेको होइन । अहिले राउत पनि त्यही पथमा हिँड्न थाल्नुभएको छ । सत्तामा सहभागिता जनाउनुभएपछि उहाँलाई पनि सत्तासँग मोह भएको छ । उहाँलाई राष्ट्रिय सभामा एउटा पनि सिट दिइएन, तैपनि सत्तासँग टाँसिनु भएको छ । यो कस्तो सत्ता मोह हो भन्ने यसैबाट पुष्टि हुन्छ । मधेसवादी दलहरू सत्ता र शक्तिका कारण बरबाद भएका छन् । दलहरू अहिले मधेसवाद छाडेर जातिवादमा गएका छन् । लालु यादव र जगनाथ मिश्राले जे गर्नुभएको थियो, त्यो अहिले मधेसमा भइरहेको छ ।

अब तपाईंको यात्रा कता जान्छ ?

अहिले सामाजिक कार्यहरू गरिरहेको छु । राजनीति पनि गरिरहेको छु । २०७९ को चुनावमा स्वतन्त्र भएर चुनाव पनि लडेँ । मेरो जुन सोच हो, त्यो अनुसार मैले राजनीति नै गर्ने हो । तर म अहिले एक्लै छु । मलाई पार्टीले नबोलाएको पनि होइन । हरेक पार्टीले मलाई बोलाउँछ । तर मेरो स्वभावले मानिरहेको छैन । उमेरले पनि मानिरहेको छैन । मुटुको अप्रेसन भएको छ त्यही भएर सक्रिय भइरहेको छैन । म अहिले अलिकति बाबुरामसँग नजिक छु ।

लामो समय पत्रकारितामा रहनुभयो । अहिलेको जुन पत्रकारिता भइरहेको छ, त्यसमा चाहिँ तपाईंको टिप्पणी के छ ?

जनआन्दोलनपछि नेपालको पत्रकारिताले फड्को मारेकै हो । तर बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चात् सबै थोक राजनीतिकरण भयो । त्यसबाट पत्रकारिता पनि अछुतो रहन सकेन । पत्रकार पनि कहीँ भ्रातृ संगठनमा बस्छ रु यो कस्तो पत्रकारिता हो रु मैले बुझ्न सकेको छैन ।

भ्रातृ संगठन बनाएर पत्रकारिता गर्‍यो भने त्यो स्वतन्त्र पत्रकारिता हुन सक्दैन । तर त्योभन्दा बाहिर बसेर पनि केहीले पत्रकारिता गरिरहेका छन् । तर कुनै न कुनै रूपमा त्यसलाई पनि राजनीतिकरण गरिएको छ ।

-रातोपाटीबाट

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A