विद्यार्थी आन्दोलन, जसले हसिनाको पतन गरायो

  • साउन २२, २०८१
  • समृद्धिपथ
alt

एजेन्सी । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले विद्यार्थी आन्दोलन, हिंसा र सयौँको मृत्युका बिच पद र देश छाड्न बाध्य भए । सरकारी जागिरमा आरक्षणको विरोधमा सुरु भएको विद्यार्थी आन्दोलनले अन्ततः हसिनाको सरकार पतन गरिदियो ।

यससँगै बंगलादेशमा शेख हसिनाको १५ वर्ष लामो शासन अन्त्य भएको छ । हसिना नेतृत्वको अवामी लिग सन् २००९ देखि लगातार सत्तामा थियो । गत पुसको निर्वाचनबाट झन् शक्तिशाली प्रधानमन्त्रीको रुपमा उदाएकी शेख हसिनाको पतन हुनुमा उनको शासकीय कार्यशैली जिम्मेवार छ ।

देशै छाड्न बाध्य किन ?

पछिल्लो आन्दोलन हसिनाले सत्ता ग्रहण गरेपछि सामना गर्नुपरेको सबैभन्दा गम्भीर संकट हो । सत्ता हातमा लिएपछि हसिनाले भोगेको सबैभन्दा गम्भीर चुनौती थियो, हालको प्रदर्शन । आरक्षण खारेज गर्न माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलन सरकारविरोधी बन्न पुग्यो ।

गत २३ जेठमा उच्च अदालतले स्वतन्त्रता सेनानीका सन्तानलाई निजामती सेवामा ३० प्रतिशत आरक्षणको व्यवस्था गर्ने आदेश दिएसँगै बंगलादेशमा विद्यार्थी आन्दोलन सुरु भएको थियो । लगत्तै त्यहाँका प्रमुख विश्वविद्यालयहरूमा आरक्षणको विरोधमा विद्यार्थीले शान्तिपूर्ण प्रदर्शन गरे, तर सरकारले सुनुवाइ गरेन ।

आरक्षण हटाउने विद्यार्थीको आन्दोलनलाई प्रधानमन्त्री शेख हसिनाले गम्भीर रूपमा लिइनन् । बरु आन्दोलन गरेर विद्यार्थीले व्यर्थमा समय खेर फालेको आरोप लगाए । जसले आन्दोलनमा ‘आगोमा घिउ’ थपेझैँ गर्‍यो ।

राजीनामाको माग चर्किरहँदा उनले ‘आतंकवादी’ भने र समर्थकहरूलाई ‘कठोरतापूर्वक आतंकवादीलाई दमन गर्न’ आह्वान गरे । त्यपछि हिंसात्मक आन्दोलन झनै चर्कियो । ढाका र देशका अन्य भागहरूमा सरकारी जागिरहरूमा आरक्षण खारेज गर्ने मागका साथ सुरु भएको विरोध प्रदर्शन व्यापक सरकार विरोधी आन्दोलनमा परिणत भयो ।

विरोध प्रदर्शन र हिंसात्मक झडपका लागि हसिना र विपक्षीहरूले एक–अर्कालाई दोष लगाउँदै आएका थिए । विरोधी दलका कार्यकर्तामाथि प्रतिशोध साध्ने क्रम हसिनाले जारी राखिन् । विरोधी तथा प्रतिद्वन्द्वीलाई पक्राउ गर्ने तथा झूटा मुद्दा लगाउने काम पछिल्ला दिनमा झन् तीव्र भयो ।

विद्यार्थीले आरक्षण प्रणाली खारेजी आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाइ तथा मृतकका परिवारलाई क्षतिपूर्तिसहितका माग राख्दै सरकारविरुद्ध असहयोग आन्दोलन गर्दै आएका थिए । प्रधानमन्त्री हसिनाले आन्दोलनकारीलाई बेवास्ता गरे ।

तर, उनले आइतबार वार्तामा बोलाए पनि आन्दोलनकारीले हसिनाको राजीनामा माग्दै आन्दोलन चर्काए  । सोमबार देशव्यापी आन्दोलन चर्किएपछि हसिनाले देशवासीका नाममा भिडियो सन्देश पनि जारी गर्न नपाउँदै देश छाड्न बाध्य भए ।

शक्तिशाली प्रधानमन्त्री हसिनाको बहिर्गमनसँगै प्रदर्शनकारीहरूले राजधानी ढाका र देशैभरि विजयोत्सव मनाएका थिए । विजय मनाउने क्रममा ढाकामा प्रधानमन्त्री निवास, संसद् भवन, मन्त्रीहरूको घर तथा राष्ट्रपिता शेख मुजिबुर रहमानका सालिकहरू पनि प्रदर्शनकारीले ढालेका छन् ।

देश छोडेसँगै प्रधानमन्त्री हसिनाको डेढ दशकको सत्तारोहण समाप्त भएको छ । उनको सत्ता बहिर्गमनले लोकतान्त्रिक आवरणमा नेतामा हुर्किने अधिनायकवादी महत्त्वाकाङ्क्षा र कार्यशैलीको कसरी पतन हुन्छ भन्ने तस्बिर देखाइदिएको छ ।

bangladesh-protest-3-0682024013323-1000x0

२६ वर्षे युवाको नेतृत्वमा आन्दोलन

बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलाई १५ वर्ष लामो सत्ताबाट हटाउने आन्दोलनको नेतृत्व गरेका २६ वर्षीय युवक नहिद इश्लाम को हुन् भन्ने प्रश्न अहिले उठिरहेको छ ।

ढाका विश्वविद्यालयमा सोसियोलोजीका विद्यार्थी इश्लामले ‘स्टुडेन्ट एगेन्स्ट डिस्क्रिमिनेसन मुभमेन्ट’को राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै आएका थिए । उनकै नेतृत्वमा आरक्षण विरोधी आन्दोलन बंगलादेशमा सुरु भएकोमा सो आन्दोलन पछि प्रधानमन्त्रीको राजीनामामा केन्द्रित भएको थियो ।

उनलाई १९ जुलाई २०२४को मध्यरातमा कम्तीमा २५ जनाको एउटा समूहले ढाकाको सबुजबागस्थित घरबाट समातेर अज्ञातस्थलमा लगेर विद्यार्थी आन्दोलन सुरु गर्नुको कारणबारेमा सोधेको थियो ।

उनलाई पूर्वाकाल्फको पुल मुनि २१ जुलाई २०२४मा अचेत अवस्थामा भेटिएको थियो । उनलाई २६ जुलाईमा गोनोशास्थ्य नगर अस्पतालमा प्रहरीले लगेको जनाइएको छ । उनले मंगलबार मात्रै सेनाले गर्ने सरकारको नेतृत्व स्वीकार नगर्ने भन्दै नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई सरकार प्रमुख बनाउनुपर्ने माग राखेका छन् ।

उनले सोमबार विद्यार्थीहरुलाई सम्बोधन गर्दै आफूहरुले आफूहरुको कारणले रगत बगाउने शहिदहरुलाई धोका नदिने बताएका थिए । १९९८मा ढाकामा जन्मेका उनी विवाहित हुन् र एक जना भाइ नकिव पनि छन् । उनका बाबु शिक्षक हुन् भने आमा ‘होममेकर’ हुन् ।

जानकारहरुका अनुसार उनी देशमा परिवर्तन हुनुपर्छ भन्ने गर्दथे । उनको नेतृत्वको आन्दोलनका क्रममा बंगलादेशमा करिब ३०० जनाको मृत्यु भएको छ ।

bangladesh-protest-1-0682024013336-1000x0 Capture bangladesh-protest-5-0682024013332-1000x0

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A