लहान । विगत केही दिनदेखि लहान नगरपालिकामा जारी गाउँ ब्लक जग्गा फुकुवा आन्दोलन ४ बुँदे सहमति भएपछि स्थगित भएको छ। लहान नगरपालिकामा मेयर महेश चौधरीको अध्यक्षतामा बसेको बैठकले संघर्ष समिति र स्थानीय प्रशासनबीच सहमति गरेपछि आन्दोलन अन्त्य भएको हो।
सहमति अनुसार, नापी कार्यालयले बुझाएको सेस्रतालाई वडा नम्बर २४ बाट सुरु गर्दै क्रमशः अध्यावधिक गरिनेछ। अध्यावधिक गर्न आवश्यक जनशक्ति र सामग्री नगरपालिकाले उपलब्ध गराउनेछ भने बाँकी जग्गाको नापी गर्न विभागलाई पत्राचार गरिने सहमति भएको छ।
बैठकमा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, उपमेयर रामचलितर महतो, मालपोत कार्यालय प्रमुख डमरु प्रसाद निरौला, नापी कार्यालय प्रमुख लालबाबु यादव र संघर्ष समितिका संयोजक अरुण केसीको उपस्थितिमा सहमति भएको जनाइएको छ।
संघर्ष समितिले विभिन्न चरणमा आन्दोलन घोषणा गरेर ज्ञापनपत्र बुझाएको थियो। आन्दोलन अन्तर्गत खबरदारी सभा, मसाल जुलुस प्रदर्शन र मालपोत कार्यालयमा धर्ना दिइएको थियो जसका कारण कार्यालय तीन दिनसम्म ठप्प भएको थियो। संघर्ष समितिका संयोजक अरुण केसीले माग पूरा नभए पुनः आन्दोलन गर्ने चेतावनी दिए।
लहानका २४ वटै वडामा संघर्ष समिति गठन गरी आन्दोलन सञ्चालन गरिएको थियो। आन्दोलनलाई नेपाली कांग्रेस नगर समिति, विभिन्न राजनीतिक दल, समाजसेवी, मेयर, उपमेयर, वडा अध्यक्ष, लेखापढी व्यवसायी संघ र मानवअधिकारवादी राजकुमार राउतलगायतले समर्थन गरेका थिए।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A