अवसर पाए युवा पुस्ताले समाज परिवर्तन गर्न सक्छ : अध्यक्ष सिद्दिकी

  • फागुन ३, २०८१
  • समृद्धिपथ
alt

नेपालमा सामाजिक कार्य, युवाको भूमिका र मुस्लिम समुदायको उत्थानका लागि सक्रिय संस्था युथ मुस्लिम वेलफेयर सोसाइटी नेपाल, लहानका अध्यक्ष इसराइल सिद्दिकी समाजसेवामा लामो समयदेखि समर्पित नाम हो। संगठनका गतिविधि, समाजसेवा, शिक्षा, स्वास्थ्य, युवा विकास, सामाजिक सद्भाव र भविष्यका योजनाहरू लगायत उहाँसँग हामीले समसामयिक विषयमा विस्तृत कुराकानी गरेका छौं। प्रस्तुत छ त्यसको केही अंशः

० तपाईं समाजसेवामा संलग्न हुन किन चाहनु भयो, यसको प्रेरणा के थियो?
— समाजसेवा मेरो रहर मात्रै होइन, मेरो जिम्मेवारी पनि हो। हाम्रो समाजमा शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक न्याय जस्ता क्षेत्रमा अझै धेरै सुधार आवश्यक छ। विशेष गरी मुस्लिम समुदायलाई शिक्षा र अवसरको अभावले पछाडि पारेको छ। यही स्थिति परिवर्तन गर्न मैले समाजसेवामा लाग्ने निर्णय गरेँ।

० अब तपाईं युथ मुस्लिम वेलफेयर सोसाइटी नेपालको मुख्य उद्देश्य के हो त्यो बताई दिनुसु?
— हाम्रो संस्थाको मूल उद्देश्य मुस्लिम समुदायसहित सम्पूर्ण नेपाली नागरिकको शिक्षा, स्वास्थ्य, मानव अधिकार र आर्थिक उत्थानमा योगदान र सहयोग पुर्याउनु हो। विशेष गरी युवा पुस्तालाई सामाजिक सेवामा जोड्दै उनीहरूको नेतृत्व क्षमताको विकास गर्न हामी लागिपरेका छौं।

० तपाईंको नजरमा हाल मुस्लिम समुदायले भोगिरहेका मुख्य चुनौतीहरू के–के हुन्‌?
— प्रमुख चुनौतीहरू शिक्षा र रोजगारका अवसरहरूको कमी, सामाजिक विभेद तथा आर्थिक पछौटेपन हुन्। धेरै युवा उचित मार्गदर्शन र अवसरको अभावमा विदेशिन बाध्य छन्। धार्मिक तथा सांस्कृतिक रूपमा गलत धारणा पनि ठूलो समस्या बनेको छ। यी समस्यालाई समाधान गर्न हामी सचेतना मुलक कार्यक्रम, छात्रवृत्ति तथा सीप विकास तालिमहरू सञ्चालन गरिरहेका छौं।

० तपाईंको नेतृत्वमा संस्थाले के–के प्रमुख उपलब्धिहरू हासिल गरेको छ?
— हाम्रो संस्था स्थापना भएदेखि नै सामाजिक क्षेत्रमा धेरै काम गरिसकेको छ। विशेष गरी विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति तथा निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै आएका छौं। साथै, लाहानमा निःशुल्क स्वास्थ्य शिविरहरु, रक्तदान कार्यक्रम र सचेतना अभियानहरू सञ्चालन गरेका छौं। युवालाई स्वरोजगारमुखी बनाउने लक्ष्यसहित विभिन्न तालिमहरू पनि आयोजना गरेका छौं।

० सरकारले मुस्लिम समुदायका लागि गरेका नीतिहरू पर्याप्त छन् कि छैनन्‌? तपाईं के थप सुधारको अपेक्षा गर्नुहुन्छ?
— सरकारले केही सकारात्मक कदम चालेको भए पनि पर्याप्त छैन। मुस्लिम समुदायलाई लक्षित गरी थप प्रभावकारी नीति बनाउनुपर्छ। शिक्षा, रोजगारी र उद्यमशीलताका लागि विशेष कार्यक्रम ल्याइनु आवश्यक छ। सरकारी जागिरमा मुस्लिम समुदायको प्रतिनिधित्व बढाउन कोटा प्रणाली वा अन्य अवसरहरू सिर्जना गरिनुपर्छ भन्ने हाम्रो माग पनि हो।

० युवाहरूलाई समाजसेवामा कसरी प्रेरित गर्न सकिन्छ?
— युवाहरूलाई समाजसेवामा आकर्षित गर्न उनीहरूलाई जिम्मेवारी दिनुपर्छ। अवसर पाए युवा पुस्ताले समाज परिवर्तन गर्न सक्छ। हामी नेतृत्व विकास कार्यक्रम, प्रशिक्षण, स्वयंसेवा अभियानहरू सञ्चालन गर्दै उनीहरूलाई सक्रिय बनाउने प्रयास गरिरहेका छौं।

० आगामी दिनमा तपाईंको संस्था के–के नयाँ पहलहरू गर्न खोज्दैछ?
— हामीले अब मुस्लिम समुदायका लागि एउटा शिक्षा कोष स्थापना गर्ने तयारी गरिरहेका छौं, जसले विपन्न विद्यार्थीहरूलाई निरन्तर सहयोग गर्नेछ। साथै, सीपमूलक तालिमहरू विस्तार गर्ने, दुर्व्यसनीमा लागेको युवाहरुको लागि विशेष गरी लागु औषध विरुद्ध अभियान संचालनमा ल्याउने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न परियोजनाहरू ल्याउने योजनामा छौं।

० भविष्यमा तपाईं राजनीति गर्ने कुरा पनि आउँदैछ के भन्नु हुन्छ?
— राजनीति समाज परिवर्तनको प्रमुख साधन हो। तर मेरो प्राथमिक उद्देश्य अहिले समाजसेवा नै हो। म शिक्षाद्वारा सशक्तिकरण, स्वास्थ्य सुधार, रोजगारी सिर्जना र सामाजिक एकता प्रवद्र्धनमा केन्द्रित छु। राजनीति गर्ने वा नगर्ने भन्ने कुरा परिस्थितिमा निर्भर गर्नेछ। यदि भविष्यमा राजनीति नै समुदाय र राष्ट्रको सेवा गर्न उपयुक्त माध्यम भयो भने, म त्यसलाई सकारात्मक रूपमा लिनेछु। तर अहिलेको लागि, मेरो ध्यान सामाजिक कार्य र युवाहरूलाई सशक्त बनाउनेतर्फ छ।

० आगामी स्थानीय तहको निर्वाचनमा लहान वडा नम्बर ५ को वडाध्यक्षमा उम्मेदवारको रूपमा लड्ने कि?
— अहिलेको अवस्थामा मेरो मुख्य ध्यान समाजसेवा र समुदायको सशक्तीकरणमा छ। तर, यदि जनताको चाहना, समर्थन र आवश्यकताको आधारमा म राजनीति प्रवेश गरेर अझ प्रभावकारी रूपमा सेवा गर्न सक्छु भन्ने लागेमा, अवश्य सोच्नेछु।
मेरो लागि पद महत्वपूर्ण होइन, तर समाजको विकास र न्यायसंगत व्यवस्थापन चाहिन्छ। यदि स्थानीय निर्वाचनमा वडाध्यक्षको रूपमा उम्मेदवारी दिनु मेरो समुदाय र लहानका जनताका लागि लाभदायी हुन्छ भने, सही समयमा सही निर्णय लिनेछु। तर अहिलेको लागि, मेरो प्राथमिकता सामाजिक कार्य नै हो।

० नेपालमा विभिन्न समुदायबीच आपसी भाइचारा र सद्भाव कायम गर्न तपाईँको संगठनको भूमिका कस्तो रहेको छ?
— हाम्रो संगठन सबै समुदायका लागि खुला छ। हामीले हिन्दू–मुस्लिम समुदायबीच मेलमिलाप र सहकार्य बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं। जातीय र धार्मिक सहिष्णुतालाई प्रवद्र्धन गर्दै आइरहेका छौं।

० युवाहरूलाई नेतृत्व विकास गर्नका लागि के गर्न आवश्यक छ?
— नेतृत्व विकासका लागि युवाहरूलाई सही मार्गदर्शन, तालिम र अवसर आवश्यक छ। हाम्रो संगठनले नेतृत्व क्षमता विकास गर्न विभिन्न कार्यशाला, संगोष्ठी र स्वयंस्फूर्त अभियान सञ्चालन गरिरहेको छ।

० समाजसेवी बन्न चाहने नयाँ पुस्ताका लागि तपाईँको सन्देश के छ?
— समाज परिवर्तनका लागि इमानदार प्रयास नै प्रमुख कुरा हो। सानो सहयोगबाट ठूलो परिवर्तन ल्याउन सकिन्छ। दृढ संकल्प र इमानदार सेवाभावले मात्र समाजमा सकारात्मक प्रभाव पार्न सकिन्छ।

० हाल समाजमा देखिएका प्रमुख सामाजिक समस्याहरू के–के हुन्, र तिनीहरूलाई समाधान गर्न के गर्नुपर्छ?
— शिक्षा अभाव, बेरोजगारी, गरिबी र सामाजिक असमानता अहिलेका प्रमुख समस्याहरू हुन्। यी समस्याहरू समाधान गर्न दीर्घकालीन योजना, सरकारी र गैरसरकारी क्षेत्रको सहकार्य र युवाहरूको सक्रिय सहभागिता आवश्यक छ।

० अन्तमा केही भन्न चाहनु हुन्छ?
— म सम्पूर्ण लहानवासी र विशेष गरी युवा दाजुभाइ–दिदीबहिनीलाई एउटा संदेश दिन चाहन्छु— परिवर्तनको लागि अरूको प्रतीक्षा नगर्नुस्, आफू नै अघि बढ्नुस्। शिक्षा, समानता र सामाजिक न्यायका लागि हामी सबैले हातेमालो गर्नुपर्छ। यदि हामी एकजुट भएर सही मार्गमा लाग्यौं भने हाम्रो समुदाय, हाम्रो समाज र हाम्रो देशलाई समृद्ध बनाउन सक्छौं। म निरन्तर समाजसेवामा समर्पित छु र भविष्यमा पनि जनताको भलाईका लागि जुनसुकै भूमिका निर्वाह गर्न तयार छु। हाम्रो लक्ष्य मात्र व्यक्तिगत सफल्ता होइन, समग्र समाजको विकास हुनुपर्छ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A