फिरोज सिद्दिकी
लहान । नेकपा (एमाले) ले स्थानीय तहसम्म पार्टी संगठनलाई थप सक्रिय बनाउँदै सदस्यता नवीकरण तथा संगठन सुदृढीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ‘मिसन जागरण अभियान’अन्तर्गत लहान नगरपालिका–९ मा कार्यकर्ता वडा भेला सम्पन्न भएको छ।
नेकपा (एमाले) वडा नम्बर ९ का अध्यक्ष मोहम्मद नियामुद्दिन मियाको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका केन्द्रीय सदस्य तथा जागरण अभियानका लहान नगर इन्चार्ज मुनी साह प्रमुख अतिथि रहेका थिए।
भेलालाई सम्बोधन गर्दै साहले पार्टी संगठनलाई स्थानीय तहसम्म थप मजबुत बनाउन जागरण अभियान सञ्चालन गरिएको बताए। उनले पार्टी सदस्यता नवीकरणसँगै कार्यकर्ता तथा जनतासँग प्रत्यक्ष संवाद बढाउँदै संगठनलाई चलायमान बनाउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
कार्यक्रममा नेकपा (एमाले) मधेश प्रदेश सदस्य रामनारायण मेहताले वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले जनतालाई भ्रमित पार्ने काम गरिरहेको आरोप लगाए। उनले जनताको हकहितका लागि एमाले नै प्रतिबद्ध पार्टी भएको दाबी गर्दै अभियानलाई प्रभावकारी रूपमा सफल बनाउन सबै नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने बताए।
त्यस्तै, सिराहा जिल्ला कमिटी सदस्य राजो देवी चौधरीले पार्टी सुदृढीकरणका लागि जागरण अभियान आवश्यक रहेको बताइन्। उनले एमाले नेतृत्वका सरकारहरूले शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी गर्दै वर्तमान सरकारले जनतालाई ठगेको आरोप लगाइन्।
लहान नगर कमिटी अध्यक्ष राजकुमार साहले विगतमा एमाले नेतृत्वको सरकारले गरेका कामलाई सामाजिक सञ्जालमार्फत गलत ढंगले प्रस्तुत गर्ने प्रयास भइरहेको बताए। उनले ‘३५ वर्षमा केही भएन’ भन्ने भाष्य गलत भएको दाबी गर्दै एमालेले विकास र जनताको पक्षमा ऐतिहासिक काम गरेको बताए। आगामी निर्वाचनमा एमालेको पक्षमा जनमत निर्माण गर्न संगठनलाई वडा तहदेखि नै थप सक्रिय र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
लहान–९ का पूर्ववडा अध्यक्ष प्रदीपकुमार चौधरीले सामाजिक सञ्जालमार्फत विभिन्न भ्रम सिर्जना भइरहेकाले त्यसलाई चिर्न जागरण अभियान आवश्यक भएको बताए। उनले एमालेको नेतृत्वमा विगतमा भएका विकास निर्माण तथा सामाजिक क्षेत्रमा भएका कामलाई जनतामाझ प्रभावकारी रूपमा लैजानुपर्ने धारणा राखे।
चौधरीले एमालेले विगतमा ऐतिहासिक काम गरेको दाबी गर्दै वर्तमान सरकार गरिब तथा विपन्न वर्गको पक्षमा नरहेको आरोपसमेत लगाए।
एमालेले ‘मिसन जागरण अभियान’मार्फत देशभरका स्थानीय तह र वडासम्म पार्टी गतिविधि विस्तार गर्न केन्द्रीय प्रतिनिधिहरू परिचालन गरेको छ। अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण, संगठनको अवस्था मूल्यांकन, कार्यकर्ता परिचालन तथा स्थानीय तहमा पार्टीको जनसम्बन्ध विस्तारलाई प्राथमिकता दिइएको एमालेले जनाएको छ।
लहान–९ मा सम्पन्न भेलामा एमालेका स्थानीय नेता, कार्यकर्ता तथा पार्टी सदस्यहरूको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण लहान नगर कमिटीका सदस्य राजकुमार मल्लले गरेका थिए।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A